"भन्थी मेरी उनी’ र ‘विधवालाई सिन्दुर’ भन्ने गीत साह्रै मन पर्छ" - गीतकार सुरेन्द्र राना


‘थामेर किन छोड्यौ हातहरू’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘मेरो याद अझ्ै आउँछ भने’, ‘यो मनको के भर हुन्छ’ र जुनी जुनीलाई मेरी उनीलार्ई’— सुनीता सुब्बा, तारा थापा, ओम विक्रम विष्ट, अरुण थापा र रविन शर्माले गाएका लोकप्रिय गीतका अंश हुन् यी । र गीतकार हुन् सुरेन्द्र राना 
। गीत लेख्नुअघि सुरेन्द्र, राम थापासँगै गिटार बजाउँथे । भन्छन्, “एकपल्ट राम थापालाई एउटा गीत खाँचो परेको थियो, लौ न त लेखुँ भनेर एउटा गीत लेखेँ । त्यो गीत विज्ञान श्रेष्ठले गायो । ‘धेरै धेरै बाधा पन्छायौँ’ भन्ने त्यो गीत त्यतिखेर हिट पनि भयो ।” त्यसपछि त उनले लेखेका अरु गीत पनि हिट हुँदै गए । जसले गर्दा गीत लेख्न उनी यति हौसिए कि परीक्षा दिने एक घण्टा अघिसम्म पनि उनको मनमा गीत फुरिरहेको हुन्थ्यो । बीएल गर्दा नगर्दै उनी प्रसिद्ध गीतकार भइसकेका थिए ।
शुरुदेखि नै हठी र एकान्तप्रिय स्वभावका सुरेन्द्रलाई जागिर खाने लोभ कहिल्यै लागेन न त गीत लेखेर सङ्गीतकारको चाकरी नै गरे । गीत लेखेर जीवन नधानिने कुरामा उनी सहमत छन् । सङ्गीतकारले सिनेमाका लागि रु.५० हजारसम्म पारिश्रमिक बुझने कुरा गर्दै भन्छन्, “गायक गायिकाको पारिश्रमिक पनि गीतकार भन्दा धेरै हुन्छ, पेलिएको खाली गीतकार मात्रै हो ।” सुरेन्द्रका करीब १ सय ८० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । प्रत्येक दिन रेडियो र टिभीबाट उनका गीतहरू बज्छन् । तर, उनको हातमा त्यसको रोयल्टी कहिल्यै परेको छैन । भन्छन्, “रोयल्टी श्रष्टालाई सम्मान गर्न दिने पुरस्कार हो, रोयल्टी भनेको सम्मान हो । त्यसैले तेरो गीत यति पटक बज्यो रोयल्टी लिन आइज भनेर कोही जाँदैनन् । ज्याला हो र लिन जाने ? मेचीको मान्छेले रोयल्टी लिन काठमाडौँ आउँदा खर्च कति लाग्छ ? त्यसैले रोयल्टी दिने हो भने बोलाउने होइन, पु¥याउनु पर्छ श्रष्टाकहाँ ।”
उनले २०३७ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । र, २०३८ सालमा राष्ट्रव्यापी आधुनिक गीत लेखनमा दोस्रा भएका थिए । गीत लेख्न कुनै मूढ, समयको आवश्यक नपर्ने उनी बताउँछन्, “१५ देखि २० मिनेट भित्रमा म एउटा राम्रो गीत लेख्न सक्छु ।” कविता र गीतको तुलना गर्दा उनी भन्छन्, “गीत कविता हुन्छ तर कविता गीत हुँदैन र कविता दुई जनाले बुझला, तर गीत सबैले बुझछ, कवितामा भन्दा गीतमा आकर्षण छ ।” कुनै गीत चल्नुमा सङ्गीतकार, गायक वा गायिका भन्दा गीतकारमा भर पर्छ भन्ने उनको भनाई छ । भन्छन्, “नराम्रो गीतलाई जति राम्रो सङ्गीत दिए पनि राम्रो हुँदैन ।” अविवाहित सुरेन्द्रलाई शिवशङ्कर थापाका– ‘भन्थी मेरी उनी’ र ‘विधवालाई सिन्दुर’ भन्ने गीत साह्रै मन पर्छ रे ! राम थापा उनको मनपर्ने सङ्गीतकार हुन् । सञ्चार जगतलाई उनको सुझव छ– “गीतको मेरुदण्ड गीतकारलाई बेवास्ता र आर्थिक शोषण कदापि नगर्नु ।”
रामजी राना
http://nepalihimal.com/article/5571

Comments

Popular posts from this blog

“‘हावासँग बगूँ भन्छु’ सुखानी हत्याकाण्डले जन्माएको गीत हो”- शिवशंकर थापा

छिन्नलता विशेष सम्मान