“‘हावासँग बगूँ भन्छु’ सुखानी हत्याकाण्डले जन्माएको गीत हो”- शिवशंकर थापा


पञ्चायतकालमा २०२९ सालमा नेपाली कम्युनिष्ट आन्दोलनका झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिए ।

झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।
सुखानी हत्याकाण्डले त्यसै क्षेत्रका स्थायी बासिन्दा गीतकार/कवि शिवशंकर थापालाई हल्लायो । चेतनशील ब्यक्ति भएको हुनाले उनले यस विषयमा कलम नचलाई रहन सकेनन् ।
उनले लेखे ,
“हावासँग बगूँ भन्छु पातसँग बोलूँ भन्छु
यो मनको आगो फेरि कहिँ कतैँ सल्कूँ भन्छ
चट्टानलाई फोरुँ भन्छ पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उजेलोमा भनूँ भन्छ”
यस गीतका संगीतकार सुवर्ण लिम्बुका भाइ राजु र पवन गोलेको दार्जिलिङमा सहपाठी थिए । त्यसै परिचयको डोरो बनाएर गायक पवन गोले गीत गाउन भनेर २०३० सालतिर नेपाल पसेका थिए ।
सुवर्ण लिम्बु, शिवशंकर थापा, ओमबिक्रम बिष्टको सहयोगमा उनले स्वर परीक्षा उतीर्ण गरे र पहिलो गीतको रुपमा यो गीत रेडियो नेपालमा रेकर्डिंङ गरे ।
“पंचायतकालमा रेडियो नेपालमा यो गीत कसरी सेन्सरमा पास भयो त?” भनेर सोध्दा गीतकार थापा भन्छन् ।
“गीतको वास्तविक अर्थ उनीहरुले पैल्याउन सकेनन्, अर्कै अर्थमा बुझे त्यसैले पास भयो ।”
“संगीतकार र गायकलाई यस गीतको वास्तविक भावभूमि थाह थियो त?” भनेर सोध्दा उनी भन्छन् , “त्यस समय अर्थ खुलाइदिने चलन थिएन ।”  मलाई भने यो गीतको शब्दहरुमा रहेको विद्रोहहरुले त्यतैतिर इंगित गरेको अनुमान मिलेकोमा दंग परेँ ।लगभग त्यसै समय लेखिएको गीत दिप श्रेष्ठद्वारा लयबध्द गरी गाइएको गीतमा पनि त्यही समयको त्रासदी पाइन्छ;
“मेरो आँखामा भरदिन बादल छाइरहयो
बिन्ति छ कसैले आँधी ल्याइदेऊ
मेरो छातिमा भर रात रातले टेकिरह्यो
बिन्ति छ कसैले उज्यालो ल्याइदेऊ”
ब्यवस्था भित्र रहेर पनि विद्रोहको आगो ओकल्नु पनि सकिने,  अभिब्यक्तिमा कला पनि देखिने उनको विम्ब कौशलता अदभुत रहेछ ।
वि.सं. २००५ सालमा धनकुटाको डाँडागाउँमा जन्मेका थापाका केवल ८-९ गीत मात्रै रेकर्डिङ भएका छन् तर शतप्रतिशत चर्चित गीत रहेका छन् । प्राय जसो उनका गीतमा वरिष्ठ गायक दिप श्रेष्ठले स्वर र लय प्रदान गरेका छन् । वि.सं. २०२७ सालदेखि रेडियो नेपालको प्रतियोगितामा लगातार तेस्रो भएका दिप श्रेष्ठलाई २०३० सालमा शिवशंकर थापाद्वारा रचित “विधुवाले सिन्दुरको रहर आँखामा टाँसेर” बोलको गीतले नै प्रथम पुरस्कार दिलाएको थियो।
“फूलको गाला भिजाएर शीत झरेरात भर
बिहानीको घाम लाग्दा निहुरी बस्यो लजाएर”
सरला गुरुङ र सोफिया गुरुङ द्वारा गाइएको यस गीतलाई अश्लील भन्दै रेडियो नेपालमा त्यस समय रेकर्डिङ गर्न स्वीकृति नदिइएको संगीतकार दिप श्रेष्ठको रोचक कथन छ ।
विम्बहरुलाई उठाएर जीवन्त गीत लेख्ने शिवशंकर थापाको गीत मध्ये “भन्थी मेरी उनी मेरो पाइला नटेकिदिनू” ले मेरो दिमाग राम्रै खाएको हो । यस गीतको बारेमा जिज्ञासा राख्दा उनले बताए, “यो बडो पीडादायी छ, यो घाउ नै घाउको गीत हो, सधैँ दुखिरहन्छ – प्रेमको कुनै उमेर नहुँदो रहेछ। मेरो संस्मरण आएपछि मात्र बुझिन्छ।” उमेरले सत्तरी पार गरेका वरिष्ठ गीतकारले इन्टरनेट बातचितमा मलाई बताए ।

उनका कुराले मेरा पनि रहरहरु बिउँझिएर कसैको छेउ हाँस्न पुगे झैं आभाष भयो, प्रकाश गुरुङको संगीत र ओमबिक्रम बिष्टको स्वर रहेको यस गीतमा जस्तै;
“मेरो रहर बिउँझिएर तिम्रो छेउ आइहाँसे
केही रहर बिन्ति छ, तिमीले पनि संगाली राख्नु”
शिवशंकर थापाका सदाबहार गीतहरु
१. विधुवाले सिन्दुरको रहर – गायक – दिप श्रेष्ठ संगीतकारः दिप श्रेष्ठ
२. भन्थिन् मेरी उनी मेरो पाइला,गायक – दिप श्रेष्ठ संगीतकारः दिप श्रेष्ठ
३. हावासँगै बगुँ भन्छु, गायक – पवन गोले संगीतकारः सुवर्ण लिम्बु
४. मेरो आँखामा,गायक – दिप श्रेष्ठ संगीतकारः दिप श्रेष्ठ
५. तिमी आकाशको जुन,गायक – दिप श्रेष्ठ संगीतकारः दिप श्रेष्ठ
६. सपनालाई अंगालेर,गायक – दिप श्रेष्ठ संगीतकारः दिप श्रेष्ठ
७. मेरो रहर बिँऊझिएर,संगीत प्रकाश गुरुङ गायक- ओम बिक्रम विष्ट
८. फूलको गाला भिजाएर शीत झरेरात भर – संगीत -दिप श्रेष्ठ, स्वर – सरला सोफिया गुरुङ

रबाखारा, हत्तेरी डट कम

Comments

Popular posts from this blog

"भन्थी मेरी उनी’ र ‘विधवालाई सिन्दुर’ भन्ने गीत साह्रै मन पर्छ" - गीतकार सुरेन्द्र राना

छिन्नलता विशेष सम्मान